वीरगंज। विद्यार्थीहरूमा व्यक्तित्व विकास, नेतृत्व क्षमता, भावनात्मक बुद्धिमत्ता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले वीरगंजस्थित नर्सिङ क्याम्पसमा विशेष व्यवस्थापनसम्बन्धी सेमिनार सम्पन्न भएको छ।
‘डिग्रीभन्दा पर : व्यक्तित्व विकास, भावनात्मक बुद्धिमत्ता र व्यावसायिक सफलता निर्माण’ शीर्षकमा मंसिर ४ गते आयोजित सेमिनारमा ६१ जना विद्यार्थीको सहभागिता रहेको थियो।
काठमाडौँको सारुबी लियो क्लब, काठमाडौँ युथ लायन्स क्लब र शंकराचार्य रोट्र्याक्ट क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वीरगंज केयर क्याम्पस लायन्स क्लब, ललितपुर एलाइट लायन्स क्लब तथा पशुपति नेपाल ल क्याम्पस रोट्र्याक्ट क्लबको सहकार्य र मनोहरा रोट्र्याक्ट क्लबको समन्वय रहेको थियो।
कार्यक्रममा व्यवस्थापन विषयका उपप्राध्यापक तथा प्रशिक्षक दिपेश कुमार कर्णले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए।
कर्णले व्यवस्थापनका आधारभूत तथा व्यावहारिक पक्ष, नेतृत्व क्षमता, भावनात्मक बुद्धिमत्ता, सञ्चार सीप, सार्वजनिक वक्तृत्वकला, पेशागत नैतिकता, स्वयम् व्यवस्थापन र कार्यस्थलमा अपनाउनुपर्ने व्यवहारलगायत विषयमा सहजीकरण गरेका थिए।
उनले शैक्षिक उपाधि मात्र व्यावसायिक सफलताका लागि पर्याप्त नहुने उल्लेख गर्दै ज्ञान, सीप, सकारात्मक सोच, भावनात्मक परिपक्वता र प्रभावकारी सञ्चार क्षमताको संयोजनले व्यक्तिलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
विशेषगरी नर्सिङ तथा चिकित्सा क्षेत्रका विद्यार्थीका लागि बिरामी, सेवाग्राही, सहकर्मी र संस्थागत नेतृत्वसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न भावनात्मक बुद्धिमत्ता, सञ्चार सीप र व्यवस्थापकीय क्षमता आवश्यक रहेको उनको भनाइ थियो।
कर्णले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई वास्तविक जीवन र कार्यक्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने विषयमा व्यावहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए। उनले व्यक्तित्व विकास, नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्वकला र अनुसन्धानप्रतिको अभिरुचिले विद्यार्थीलाई शैक्षिक उत्कृष्टताबाट व्यावसायिक उत्कृष्टतातर्फ अघि बढ्न सहयोग पुर्याउने धारणा राखे।
व्यवस्थापन तथा मानव संसाधन व्यवस्थापनका क्षेत्रमा अध्यापन, अनुसन्धान र प्रशासनिक अनुभव हासिल गरेका कर्ण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानमूलक शोधपत्रका लेखकसमेत हुन्। उनी सामाजिक, शैक्षिक तथा व्यवस्थापकीय विषयमा सञ्चारमाध्यममार्फत विचारसमेत व्यक्त गर्दै आएका छन्।
कार्यक्रमको मूल परिकल्पना तथा प्रारम्भिक पहल लायन्स, लियो तथा रोट्र्याक्ट अभियानसँग आबद्ध सुसान्त सिंह ठकुरीले गरेका थिए। उनको पहलमा विभिन्न सामाजिक तथा युवा सेवामूलक संस्थालाई साझा उद्देश्यमा एकीकृत गर्दै विद्यार्थीको क्षमता, नेतृत्व र अनुसन्धानप्रतिको रुचि विकासका लागि साझा मञ्च निर्माण गरिएको थियो।
नर्सिङ क्याम्पसका प्रशासनिक, प्राविधिक तथा सूचना प्रविधि कर्मचारी, प्राध्यापक, शैक्षिक व्यक्तित्व र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग, प्रोत्साहन तथा सहजीकरण प्रदान गर्ने वीरगंज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख एवं वीरगंज केयर क्याम्पस लायन्स क्लबकी संस्थापक अध्यक्ष डा. कल्पना पौडेलप्रति आयोजकले विशेष आभार व्यक्त गरेका थिए।
सेमिनारले विद्यार्थीहरूलाई औपचारिक शैक्षिक उपाधिसँगै व्यक्तित्व विकास, व्यावहारिक ज्ञान, भावनात्मक बुद्धिमत्ता, अनुसन्धानप्रतिको रुचि र व्यावसायिक सीप विकासको आवश्यकताबारे महत्त्वपूर्ण सन्देश दिएको आयोजकको विश्वास छ।





