वीरगंज। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि मधेश प्रदेशस्तरीय शारीरिक सुगठन खेलाडी छनोट प्रतियोगिता वीरगंजमा सम्पन्न भएको छ।
मधेश खेलकुद परिषद् जनकपुरधामको आयोजना तथा पर्सा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा वीरगंजस्थित पर्सा जिल्ला खेलकुद विकास समितिको कभर्ड हल, घडिअर्वामा प्रतियोगिता आयोजना गरिएको हो।
छनोट समितिका संयोजक किरण यादव (करण) को अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पर्सा, बारा र रौतहट जिल्लाका खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताबाट पर्सा जिल्लाका ७, बारा जिल्लाका २ र रौतहट जिल्लाका १ गरी कुल १० जना खेलाडी छनोट भएका छन्।
छनोट हुने पर्साका खेलाडीमा विकास पासवान (५५ केजी), हरिनारायण साह (६५ केजी), मोहम्मद खालिद हुसैन (७० केजी), साहेब गिरी (७५ केजी), शक्ति ठाकुर (८० केजी), प्रेमचन्दर गुप्ता (८० केजीभन्दा माथि) र अफताब मियाँ मन्सुरी (मेन्स स्पोर्ट्स फिजिक्स +१७० सेमी) रहेका छन्।
त्यसैगरी, बाराबाट बर्मा प्रसाद यादव (६० केजी) र राहुल कुमार साह (पुरुष एथलेटिक्स फिजिक्स +१७० सेमी) छनोट भएका छन् भने रौतहटबाट शेख इरफान (मेन्स स्पोर्ट्स फिजिक्स +१७० सेमी) छनोट भएका छन्।
कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह कानु, कार्यालय सचिव सञ्जय परियार, मिस्टर धर्मश्री विजेता अर्जुन वर्णवाल, मिस्टर नारायणी विजेता श्रीराम चौधरी, कुस्ती खेलाडी सुजित यादव, अफिसियल प्रशिक्षक आकाश पटेल, समाजसेवी विनय गुप्ता, करण पटेल, मणीन्द्रलाल नेपाली तथा कराते प्रशिक्षक अशेषर पटेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिवनाथ यादवले गरेका थिए। छनोट भएका खेलाडीहरूको विवरण संयोजक यादवले सार्वजनिक गरेका हुन्।





