Categories समाचार

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर, ३४६ जनाले लिए स्वास्थ्य सेवा

Advertisement

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल वीरगंज, म्याग्नस फार्मा र रुगंटा वेलफेयर सोसाइटीको सहकार्यमा वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा ३४६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श सेवा लिएका छन्।

Advertisement

‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेशनल मेडिकल कलेजका बालरोग, नेत्ररोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी, छालारोग र दन्तरोग विभागका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए।

Advertisement

कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसी रहेकी थिइन्। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरीका उच्च अधिकारी, नेपाल प्रहरीका अधिकारी, वीरगंज महानगरपालिका–२३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुगंटालगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो।

स्वास्थ्य परीक्षणसँगै रक्तदान कार्यक्रमसमेत आयोजना गरी स्वैच्छिक रक्तदानको महत्वबारे जनचेतना फैलाउने प्रयास गरिएको थियो।

समुदायस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याएको आयोजकले जनाएको छ।

नेशनल मेडिकल कलेजले अस्पतालको सेवा समुदायस्तरसम्म विस्तार गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता स्वास्थ्य शिविर तथा सेवामूलक कार्यक्रममा सहकार्य गर्दै आएको जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *