Categories समाचार

प्रहरीमाथि आक्रमण गर्ने समूहसँगै रकम असुलीको आरोप, असईमाथि छानबिन

Advertisement

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा ड्युटीमा खटिएका प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र यादवमाथि भारतीय नागरिकहरूको समूहले कुटपिट गरेको घटनासँगै नियन्त्रणमा लिइएका मोटरसाइकल छाड्दा २० हजार भारतीय रुपैयाँ (करिब ३२ हजार नेपाली रुपैयाँ) असुली भएको आरोप सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन अघि बढाएको छ।

घटनासँग सम्बन्धित प्रहरी चौकी टिहुकीका असई भोला चौधरीलाई शनिबार दिउँसो करिब ४ बजे जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लले घटनाबारे आवश्यक जानकारी लिन असई चौधरीलाई जिल्ला बोलाइएको पुष्टि गरेका छन्।

Advertisement

शुक्रबार दिउँसो टिहुकीस्थित गुडु नामक व्यक्तिको मदिरा पसलमा आएका चार भारतीय नागरिकले मदिरा सेवनपछि विवाद गरेपछि सञ्चालकको सूचनामा प्रहरी टोली पुगेको थियो। त्यसक्रममा उनीहरू मोटरसाइकल छाडेर फरार भएका थिए। राति करिब साढे ८ बजे १४–१५ जनाको समूहमा पुनः पसल पुगेका उनीहरूसँग विवाद भएपछि प्रहरी टोली दोस्रोपटक घटनास्थल पुगेको थियो।

Advertisement

विवाद नियन्त्रण गर्ने क्रममा समूहका व्यक्तिहरूले प्रहरीको लाठी खोसेर वरिष्ठ हवल्दार यादवमाथि कुटपिट तथा लछारपछार गरेको र उनको मोबाइलसमेत फुटाइदिएको बताइएको छ। घटनाका बेला प्रहरीका दुई जना मात्रै रहेको असई चौधरीको दाबी छ। कुटपिटबाट यादवको हातमा चोट लागेको जनाइएको छ।

घटनापछि प्रहरीले चारवटा मोटरसाइकल नियन्त्रणमा लिए पनि ती सवारीसाधन छाड्ने क्रममा मुद्दा चलाउने र भन्सार पठाइदिने डर देखाएर २० हजार भारतीय रुपैयाँ असुली गरिएको आरोप सार्वजनिक भएको छ।

असई चौधरीले भने मोटरसाइकलका कागजात जाँच गरेर छाडिएको दाबी गर्दै आफूले कुनै रकम नलिएको बताएका छन्। आफ्नो नाममा अरू कसैले रकम लिएको भए त्यसबारे जानकारी नभएको उनको भनाइ छ।

प्रहरी कर्मचारीमाथि भएको समूहगत आक्रमण र प्रहरी नियन्त्रणमा रहेका सवारीसाधन छाड्दा रकम असुली भएको आरोपले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

अब जिल्ला प्रहरी कार्यालयको छानबिनले प्रहरीमाथिको आक्रमण, मोटरसाइकल छाडिएको प्रक्रिया र रकम असुलीको आरोपमा संलग्न व्यक्तिबारे वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिएको छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठेको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *