वीरगंज । प्रधानमन्त्री बालेन शाह भारतको राजकीय भ्रमणमा निस्कँदा विमानस्थलमा औपचारिक सलामी, मन्त्री तथा उच्च सरकारी अधिकारीहरूको लामो लस्कर र तामझामपूर्ण बिदाइको परम्पराभन्दा फरक सादगीपूर्ण शैली अपनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा समाजसेवी विनय गुप्ताले प्रशंसा गरेका छन्।
गुप्ताले प्रधानमन्त्रीको यस शैलीलाई सार्वजनिक जीवनमा नयाँ राजनीतिक संस्कारको संकेतका रूपमा व्याख्या गरेका छन्। राज्यको सम्मान व्यक्तिको तामझाम र देखावटी औपचारिकतामा नभई जिम्मेवारीको इमानदार निर्वाह, काम र परिणाममा देखिनुपर्ने उनको धारणा छ।
नेतृत्वको वास्तविक पहिचान महँगा समारोह र औपचारिकताले नभई व्यवहार, कार्यशैली र देशका लागि हासिल गरिएका उपलब्धिले स्थापित गर्ने गुप्ताले उल्लेख गरेका छन्।
उनले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै देशका लागि ठोस उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
साथै, उनले प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणको प्रशंसा गर्दै सफल तथा उपलब्धिमूलक भ्रमणको शुभकामना दिएका छन्।





