Categories समाचार स्वास्थ्य

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी : ३० लाखको क्षति, ४ जना पक्राउ

Advertisement

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन्।

गएराति करिब ८ः३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएपछि उनका आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका हुन्।

Advertisement

नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भई नगर अस्पतालमा उपचाररत थिइन्। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण उनी अचानक बेहोस भएको आरोप लगाउँदै आफन्तले अस्पतालभित्र विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा इमर्जेन्सी कक्षमा तोडफोड तथा पेट्रोल छर्केर आगजनी गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

Advertisement

प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइएको थियो। थप उपचारका लागि राति १०ः४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्‍याइएकी सिमालाई चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बरहथवा–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन रामलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोप लागेका अस्पतालमै करारमा कार्यरत बरहथवा–५ का ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।

प्रहरीका अनुसार अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट प्रारम्भिक अनुमानअनुसार करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *