वीरगंज । नेपाल प्रहरीको २०८३ साल कात्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय पर्सा देशभरमा पहिलो स्थान हासिल गर्न सफल भएको छ।
प्रहरीको मासिक रिपोर्ट कार्डअनुसार पर्साले कुल १२० पूर्णाङ्कमध्ये १०३.९६ अंक प्राप्त गर्दै ८६.६३ प्रतिशत हासिल गरेको हो। दोस्रो स्थानमा रहेको काठमाडौँले ८५.७७ प्रतिशत प्राप्त गर्दा रुपन्देही ८५.२२ प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ।
त्यस्तै बाँके ८४.८७ प्रतिशतसहित चौथो र कैलाली ८४.२० प्रतिशतसहित पाँचौँ स्थानमा रहेका छन्।
पछिल्ला तीन महिनाको कार्यसम्पादन नतिजा हेर्दा पर्सा प्रहरीले उल्लेखनीय सुधार गरेको देखिन्छ। भदौ महिनामा चौथो र असोजमा छैटौँ स्थानमा रहेको पर्सा कात्तिक महिनामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा उक्लिएको हो।
प्रहरी कार्यसम्पादन मूल्याङ्कनमा अपराध अनुसन्धान, अपराध नियन्त्रण, प्रहरी परिचालन, शान्ति सुरक्षा व्यवस्थापन, लागूऔषध नियन्त्रण तथा बरामद, अवैध हातहतियार नियन्त्रण, फरार अभियुक्त पक्राउ, फैसला कार्यान्वयन, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणलगायतका विषयलाई महत्त्वपूर्ण सूचकका रूपमा समेटिएको हुन्छ।
नेपालको प्रमुख व्यापारिक नाका तथा भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएकाले पर्सामा सुरक्षा चुनौती पनि उत्तिकै छन्। लागूऔषध ओसारपसार, अवैध हातहतियारको कारोबार, तस्करी, सीमा अपराध तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्नु पर्सा प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा रहेका छन्। यस्तो अवस्थामा अपराध अनुसन्धानदेखि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणसम्मका जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउनु महत्त्वपूर्ण मानिन्छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले यस उपलब्धिलाई सम्पूर्ण प्रहरी कर्मचारीको सामूहिक मेहनत, अनुशासन, समर्पण र जिम्मेवारीबोधको परिणामका रूपमा लिएका छन्।
उनका अनुसार प्रहरी संगठनको सफलता कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव हुँदैन। जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको सक्रियता, आपसी समन्वय, निरन्तरको मेहनत र नागरिकसँगको सहकार्यले सकारात्मक परिणाम ल्याउन सहयोग पुग्छ।
आगामी दिनमा पनि अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउने, लागूऔषध तथा अवैध हातहतियारविरुद्ध कडाइ गर्ने, फरार अभियुक्त पक्राउ, सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने र नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।
कात्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पर्साले हासिल गरेको पहिलो स्थानले जिल्लामा कार्यरत प्रहरी कर्मचारीमा थप उत्साह जगाउनुका साथै नागरिकको सुरक्षा र प्रहरीप्रतिको विश्वास अझ मजबुत बनाउने जिम्मेवारीसमेत थपेको छ।





