वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीन वटा गाडी बरामद गरेको छ।
प्रहरीका अनुसार मंसिर ६ गते दिउँसो करिब १२:४० बजे वीरगंज महानगरपालिका–१० रानिघाटबाट भन्सार छली ल्याइएको खाद्यान्न तथा अन्य सामानसहित एउटा ईभी अटो बरामद गरिएको हो। उक्त सामानको मूल्य ४ लाख २३ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, मंसिर ७ गते साँझ करिब ७ बजे वीरगंज महानगरपालिका–२४ रामगढवाबाट BR05GC 5840 र BR31G 9717 नम्बरका दुई वटा पिकअप गाडीमा लोड गरी भन्सार छली ल्याउँदै गरेको कपडालगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। ती सामानको मूल्य १७ लाख ७९ हजार २ सय रुपैयाँ रहेको छ।
दुवै घटनामा गरी कुल २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामान तथा तीन वटा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।




