वीरगंज । वीरगंजस्थित क्यासिनोमा अनधिकृत रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार राति करिब ११ः५० बजे वीरगंज महानगरपालिका वडा नं. १० लोहारपट्टी चोकस्थित Fortune City Gaming Club Pvt. Ltd. (Casino) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ९ जना नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका निवासी ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार, पर्सागढी गाउँपालिका निवासी २६ वर्षीय दिनेश साह, वीरगंज महानगरपालिका निवासी ४८ वर्षीय दीपक साह, बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिका निवासी ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिका निवासी २७ वर्षीय विनोद कुमार र काठमाडौंको शंखु नगरपालिका निवासी ४० वर्षीय राजेश श्रेष्ठ रहेका छन्।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा बैतडीको दोगडाकेदार गाउँपालिका निवासी ५४ वर्षीय तिलक प्रसाद भट्ट, पर्साको वीरगंज महानगरपालिका निवासी ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिका निवासी ४६ वर्षीय दीपक राज पराजुलीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।




