Categories समाचार साहित्य

भोजपुरी प्रतिष्ठानको आयोजनामा ‘आमडा के अचार’ भोजपुरी मुक्तक-संग्रह लोकार्पण

वीरगंज । भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरी प्रतिष्ठान, वीरगंजको आयोजनामा साहित्यकार छोटेलाल प्रसाद साहद्वारा रचित भोजपुरी मुक्तक-संग्रह ‘आमडा के अचार’ को लोकार्पण समारोह सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठान, वीरगंजको आयोजनामा आज वीरगंज–४ स्थित कन्या माध्यमिक विद्यालयको सभाहलमा आयोजित समारोह प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि गोपाल अश्कले भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि साहित्यिक सिर्जना र कृतिहरूको प्रकाशनले महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै भोजपुरी साहित्यलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।

Advertisement

प्रतिष्ठानकी अध्यक्ष साहले भोजपुरी प्रतिष्ठान भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको उत्थानका लागि समर्पित संस्था रहेको उल्लेख गर्दै साहित्यिक गतिविधि र सर्जकलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भोजपुरी भाषाको समृद्ध साहित्यिक परम्परालाई संरक्षण गर्दै यसको विकासका लागि प्रतिष्ठानले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, कृतिका समीक्षक तथा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले ‘आमडा के अचार’ मुक्तक-संग्रहको साहित्यिक पक्षबारे चर्चा गर्दै मुक्तक विधामार्फत समाज, जीवन र अनुभूतिलाई साहित्यमा अभिव्यक्त गर्ने प्रयास महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले साहित्यिक कृतिहरूले भाषाको मौलिकता, अभिव्यक्ति र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्‍याउने धारणा राख्नुभयो।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलन तथा सरस्वती माताको तस्बिरमा पुष्प अर्पण गरेर गरिएको थियो। कार्यक्रममा भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, विनय राज गौतम, विनोद मेहता, महन्त राय यादव, युवा अभियन्ता विनय गुप्ता, शिवनन्दन जैसवाल, साहित्यकार सूर्यनारायण शुभचिन्तक, रामनरेश यादव तथा लक्ष्मी प्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अमोद गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन श्याम सर्राफले गर्नुभएको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *