वीरगंज । पर्साको पटेर्वा सुगौलीस्थित आधारभूत अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १८७ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।
हिजो शनिबार आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेका थिए। शिविरमा निःशुल्क सुगर परीक्षण तथा दम (अस्थमा) परीक्षणसमेत गरिएको थियो।
शिविरमा फिजिसियन तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनुपम उपाध्याय, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सतिश कुमार राय, हाडजोर्नी विशेषज्ञ डा. राजु गुप्ता र युरोलोजिस्ट डा. कासिम अन्सारीले बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए।
कार्यक्रममा चिकित्सकहरूलाई खादा तथा टीका लगाएर स्वागत गरिएको थियो। शिविर सम्पन्न भएपछि सहभागी चिकित्सकहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
थारु फर्मा मार्केटिङ वीरगंजको आयोजनामा तथा युवा नेता एवं समाजसेवी मुकेश गौरोको सह-आयोजनामा सम्पन्न शिविरलाई पटेर्वा सुगौली गाउँपालिकाले सहयोग गरेको थियो। गाउँपालिकाले शिविर सञ्चालनका लागि आधारभूत अस्पतालको भवन उपलब्ध गराउनुका साथै चिकित्सक टोली, स्वास्थ्यकर्मी तथा मार्केटिङ टोलीका लागि खाना र नास्ताको व्यवस्था गरेको थियो।
शिविरको व्यवस्थापनमा नेपाल तरुण दलका युवाहरू समेत सक्रिय रूपमा खटिएका थिए।




