वीरगंज । प्रहरीलाई छल्दै भागेको कारबाट बारामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। शनिबार इलाका प्रहरी कार्यालय सिमराको टोलीले २३७.१७ किलोग्राम गाँजा बरामद गरेको हो।
अमलेखगञ्जबाट पथलैया हुँदै पूर्वतर्फ जाँदै गरेको बा१७च २६३६ नम्बरको कारलाई पथलैयामा प्रहरीले रोक्न खोज्दा चालकले गाडी नरोकी भागेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टको नेतृत्वमा रहेको प्रहरी टोलीले कारको खोजी गर्दै नियन्त्रणमा लिन प्रयास गरेको थियो।
प्रहरीको निगरानीबाट बच्न खोज्दै गएको कार जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा पुल नजिक सडकमा छाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। कार छाडेर चालक जंगलतर्फ भागेपछि प्रहरीले गाडी जाँच गर्दा पछाडिको डिकीमा रातो प्लास्टिकले बेरेर लुकाइएको गाँजा भेटिएको थियो।
गाँजा बरामदपछि डीएसपी भट्टको नेतृत्वमा २२ जना प्रहरीको टोलीले आसपासको जंगल क्षेत्रमा खोजी गरेको थियो। खोजीका क्रममा एउटा इटेल कम्पनीको किप्याड मोबाइल समेत फेला परेको प्रहरीले जनाएको छ। उक्त मोबाइल फरार चालकको हुनसक्ने आशंका गरिएको छ।
बरामद गाँजा र कार इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने फरार चालकको खोजी जारी रहेको डीएसपी भट्टले जानकारी दिएका छन्।




