Categories समाचार

कांग्रेसको ‘हामी तयार छौँ’ अभियानमा वीरगंजका झालाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

वीरगंज । वीरगंजका नेपाली कांग्रेस नेता कञ्चन झालाई पार्टीले बाराको करैयामाई गाउँपालिकामा ‘हामी तयार छौँ’ अभियानका लागि केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ।

नेपाली कांग्रेसले आइतबार झालाई उक्त जिम्मेवारी प्रदान गरेको हो। पार्टी सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको पत्रमार्फत झालाई अभियानअन्तर्गत बाराको करैयामाई गाउँपालिकामा केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको उल्लेख छ।

Advertisement

नेपाली कांग्रेसले राष्ट्रिय पुनर्जागरण, मुलुकको समुन्नति तथा पार्टीको पुनर्जागरणको संकल्प पार्टीका सदस्य, शुभेच्छुक र आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले मंसिर १५ देखि पुस ५ गतेसम्म देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागेको छ।

Advertisement

कांग्रेसले अभियानलाई संगठनात्मक गतिविधिमा मात्रै सीमित नराखी राष्ट्रको भविष्यप्रतिको दृष्टिकोण, लोकतन्त्रप्रतिको प्रतिबद्धता, जनताप्रतिको उत्तरदायित्व र समयानुकूल रूपान्तरणको संकल्प जनस्तरसम्म पुर्‍याउने राष्ट्रिय तथा संगठनात्मक अभियानका रूपमा अघि बढाएको छ।

पार्टीभित्र वैचारिक बहस, नीति निर्माण तथा संगठनात्मक काममा सक्रिय झा नेपाली कांग्रेसका महत्वपूर्ण दस्तावेज लेखन र प्रशिक्षणको जिम्मेवारीमा समेत संलग्न रहँदै आएका छन्। समसामयिक विषयमा छलफल तथा नीतिगत बहस हुने कांग्रेसको चर्चित कार्यक्रम ‘ग्रीन टेबल’ का संयोजकसमेत रहेका झा पार्टीका विभिन्न वैचारिक तथा संगठनात्मक गतिविधिमा सक्रिय छन्।

केन्द्रीय प्रतिनिधिको जिम्मेवारी प्राप्त गरेपछि झाले पार्टीप्रति आभार व्यक्त गर्दै करैयामाई गाउँपालिकामा अभियानलाई सार्थक बनाउने प्रतिबद्धता जनाएका छन्।

उनले अभियान सफल बनाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, मधेश प्रदेश कार्यसमिति, बारा जिल्ला कार्यसमिति तथा करैयामाई गाउँपालिकाका पार्टी कार्यकर्ता र शुभेच्छुकहरूको साथ, सहयोग र सहकार्य अपेक्षा गरेका छन्।

झाले सबैसँग प्रभावकारी समन्वय गरेर अभियानलाई सफल बनाउने विश्वास व्यक्त गरेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *