Categories समाचार स्वास्थ्य

ठोरीमा निशुल्क स्वास्थ्य शिविर, ३ सयभन्दा बढीको स्वास्थ्य जाँच गरियो

पर्सा । पर्साको ठोरीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । शनिबार आयोजित शिविरमा ९२ वर्षका बृद्ददेखि भर्खरका बच्चाहरुको समेत स्वास्थ्य जाँच गरिएको थियो ।

वीरगञ्जकाे विर्तामा रहेकाे पर्सा हेल्थ क्लिनिकको आयोजना र सञ्चारकर्मी नवराज फुयाँलको सकृयतामा आयोजित शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

Advertisement

हुलाकी सडक बनेसँगै सडक सञ्जाल केही सहज बने पनि ठोरीका नागरिक अहिले पनि भरपर्दो स्वास्थ्य सेवाको पहुँचबाट बन्चित नै रहेका छन् ।

Advertisement

संविधनले नै स्वास्थ्य मौलिक हक अन्तर्गत राखेको भए पनि सहज स्वास्थ्य सेवा पाउन नसक्दा ठोरीका नागरिक शरिरमा विभिन्न रोग लिएर बस्नु पर्ने बाध्यतामा छन् ।

ठोरी गाउँपालिकाको वडा नम्वर १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राविधिक मा.वि.मा आयोजित शिविरमा स्त्री रोग, दन्त रोग, मुटु, विपी, कोलस्टोरोल, चिनी लगायत जाँच गरिएको थियो । उपकरणमार्फत चिनी परीक्षण शिविरस्थतलमै गरेर रिपोर्ट दिइएको थियो ।

शिविरमा फिजिसियन डा.सरोज रोशन दास, स्त्री रोग विशेषज्ञ डा.प्रविण शाह, दन्त रोग विशेषज्ञ डा.प्रिया जैसवालले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्य जाँच गर्नु अघि आयोजित शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य बृहस्पती कृष्ण श्रेष्ठले स्वास्थ्यको सहज पहुँच नभएको ठाउँमा स्वास्थ्य शिविर राखेर ठोरीबासीलाई सेवा गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

यस्तै ठोरी वडा नम्बर १ का वडाअध्यक्ष रामप्रकाश कुवँरले ठोरी बाहिर गएर स्वास्थ्य जाँच गराउन असमर्थ हुनेहरुकालागि शिविर लाभदायक बनेको बताए ।
कार्यक्रममा मभ्यवर्ती सहकारी ठोरीका व्यवस्थापक जगेन्द्र पौडेलले सदरमुकाम भन्दा टाढा भएर स्वास्थ्यकर्मी पनि जान नमान्ने ठाउँमा स्वास्थ्य शिविर राख्नु चुनौतीको विषय भएको भन्दै शिविरबाट ठोरीका नागरिकलाई लाभ मिलेको बताए ।

सञ्चारकर्मी नवराज फुयाँलको सभापतित्वमा भएको शिविर उद्घाटन कार्यक्रममा सञ्चारकर्मी आंशु सर्राफ, शिक्षक कृष्णप्रसाद पौडेल, विधुर सापकोटा, स्वास्थ्यकर्मी नविन गुप्ता, अजय साह, शशिकान्त सर्राफ, दिलावर मियाँ लगायतको सहभागिता रहेको थियो भने सुरज लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *