भारत । इन्डियन प्रिमियर लिगमा बिहीबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेकाे हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनाएकाे थियाे । जवाफमा चेन्नईले सो लक्ष्य १९.४ ओभरमा ४ विकेटको क्षतिमा हात पर्याे ।
चेन्नईका लागि ओपनरद्वय रुतुराज गाइकवाड र फाफ डु प्लेसिसले उत्कृष्ट सुरुवात गरे । गाइकवाडले ४५ तथा डु प्लेसिसले ४१ रनको योगदान दिए । अम्बाती रायडू र महेन्द्रसिंह धोनीले नटआउट रहँदै क्रमशः १७ र १४ रन बनाउँदै टिमलाई जीतसम्म पुर्याए । धोनीले २० औँ ओभरको चौथो बलमा ९६ मिटर लामो छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । हैदराबादका लागि जेसन होल्डरले ३ विकेट लिए ।
पहिले ब्याटिङ गरेको हैदराबादका लागि ऋद्धिमान साहाले सर्वाधिक ४४ रन बनाए । अभिषेक शर्मा र अब्दुल सामादले समान १८–१८ रनको योगदान दिए । प्लेयर अफ द म्याच चुनिएका जोस हेजलवुडले चेन्नईका लागि ३ विकेट लिए ।