वीरगंज । दीपावली (तिहार) पर्वको चौथो दिन आज तराई मधेशमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ ।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ । गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथावस्तु नै पर्व परम्परा भएको बिद्धवानहरू बताउनुहुन्छ । पछि गोवद्र्धन पूजा नै तराई मधेशमा ‘गोधन’ भनिन लागिएको हो ।

गोधन कुटाइका लागि गोबरमा केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाइ , रेगनीको काट आदिको प्रयोग गरिन्छ । सबैको घरबाट गोवर्द्धन भगवान आएपछि एकै ठाउँमा गोवर्द्धन पहाड बनाइन्छ । त्यहाँ एउटा माटोको हाँडीलाई चारैतिरबाट टिका लगाएर हाँडीभित्र माटोको दियो बालेर गोवर्द्धन पहाडमाथि राखिन्छ ।
चारैतिरबाट व्रतालुहरुले उभिएर पहिला छठ पर्वको गीत गाउँछन् र हलोको जुवाले हाँडीलाई फुटाउँछन् । हाँडी फुटाउने जुवालाई छठ पर्व गर्नेले मात्र समाउँछन् । हाँडी फुटेपछि उपस्थित सबै महिलाले दाजु र भाइको नाम लिई एकै स्वरमा गीत गाउँछन् जसलाई स्थानीय भोजपुरी भाषामा “सरापेको” भन्छन् ।

गीतमा दिदी–बहिनीले दाजु–भाइको लामो आयुको कामना र प्रार्थना गर्दछन् । हाँडी फुटाएको गोबरमा चढाइएका विभिन्न सामग्रीलाई सबै व्रतालुहरुले निकाल्ने प्रयास गर्दछन् । मुख्य गरी दाजु भाइले अनिवार्यरुपमा त्यो सामग्री मिठाईमा मुछेर खाने चलन रहेको छ।

गोवर्द्धन पूजासँगै छठ पर्वको सुरुआत भएको मानिन्छ । गोधन कुटाइपछि व्रतालुहरुले छठ पर्वको सामग्री पकाउने चुलो बनाउँन माटो ल्याउँन जान्छन । त्यो माटोले चुलो तयार भएपछि त्यसैमा छठको लागि पकाउँनु पर्ने सम्पूर्ण प्रसादलगायतका सामग्री तयार पारिन्छ । यसै गरी छठ पर्वमा प्रयोग हुने मुख्य प्रसाद ठेकुवाका लागि धान तथा गहुँ सुकाउने काम आजैबाट सुरु भएको छ । गोवर्द्धन पूजा सम्पन्न भएपछि छठ पर्वको औपचारिक सुरुवात हुने गर्दछ ।

गोवर्द्धन पूजालाई स्थानीय भोजपुरी भाषामा बजडी पनि भन्ने गरिएको छ । गोधन कुटाइमा प्रयोग गरिएको केराउ (बजडी) लाई मिठाइमा राखेर दाजुभाइलाई खुवाउने र कपासलाई दाजुभाइको कन्धनीमा बाँध्ने चलन रहेको छ । तराई मधेसमा मनाइने भरदुतिया चाहिँ भाइटीका नभएको र भाइटीकाभन्दा निकै फरक छठसँग सम्बन्धित रहेको छ ।







