वीरगंज । राष्ट्रिय जनगणना २०७८ का लागि पर्सा जिल्लामा मात्रै ५ सय ७० जना गणकहरु खटाइएको छ । गत कात्तिक २५ गतेदेखि शुरू भएको जनगणना मङ्सिर ९ गतेसम्म चल्नेछ ।
जनगणना मार्फत प्रभावकारी रुपमा सही विवरण संकलनका लागि पर्सामा ६ वटा जनगणना कार्यालय स्थापना गरिएको छ । वीरगञ्ज महानगरमा जिल्ला जनगणना कार्यालय पर्सा र महानगरकै लागि परवानीपुरमा पनि अर्को कार्यालय स्थापना गरिएको छ ।
त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकालाई समेत हेर्ने गरी पर्सागढी नगरपालिकामा जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय पर्साका जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिनुभयो । ठोरी, जगरनाथपुर, पटेर्वासुगौली र जीराभवानी गाउँपालिकाको लागि जीराभवानी गाँउपालिकाको सेढवामा कार्यालय सञ्चालनमा ल्याइएको छ ।

यस्तै धोबिनी, पकाहामैनपुर र छिपहरमाई गाउपालिकाको लागि कालिकामाई गाउँपालिकाको मुडलीमा कार्यालय स्थापना गरिएको ज्ञवालीले बताउनुभयो ।
जनगणनाको पहिलो चरणमा सुपरीवेक्षकले घर सङ्ख्या, परिवार सङ्ख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैंक खाता आदिका बारेमा सामान्य विवरण सङ्कलन गरी घरको सूचीकरण गरिसकेको र सूचीकरण पश्चात् दोस्रो चरणको गणकले जात, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण सङ्कलन शुरू गरिरहेको जिल्ला जनगणना प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।
पर्सामा, यस अघि १ सय ४२ जना सुपरीवेक्षकले सूचीकरण गरेको १ लाख १८ हजार ५ सय १५ घरधुरीमध्ये ९३ हजार १ सय ४० घरमा मानिस बस्ने गरेको र ती घरका १ लाख ६ सय २१ परिवारको गणना हुने प्रमुख ज्ञवालीले स्पष्ट पार्नुभयो । हरेक स्थानमा एक सुपरीवेक्षक सहित ४ जना गणक खटाईएको उहाँले बताउनुभयो ।






