वीरगञ्ज । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा वीरगञ्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चाइल्ड हब नेपालले दिवसको अवसरमा वीरगञ्जस्थित त्रिजुद्ध महाविर प्रसाद रघुविर राम उच्च माद्यामिक विद्यालयमा प्रतियोगिताको आयोजना गरेको हो ।
चाइल्ड हब नेपालका अध्यक्ष आमिर हवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा श्रेया राय प्रथम, आदित्य चौरसिया द्वितिय र आयुषी तिवारी तृतिय भएका थिए । विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने सहभागी सबैजनालाई प्रमाण पत्र वितरण गरिएको चाइल्ड हब नेपालकी सहसचिव अनिता गिरीले जानकारी दिइन् ।
प्रतियोगितामा वीरगञ्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्य, रोयल एकेडेमीकी प्रबन्ध निर्देशक बिजया ओझैया र युवा अभियानता साथै नृसिँह माविका शिक्षक दिलिपराज कार्कीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको प्रभाव र न्युनिकरणका उपाय विषयक वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बालबालिकाको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि वक्तृत्वकला प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
समसामयिक विषयवस्तुको ज्ञान हुनु र त्यसको बारेमा आफ्नो धारणा व्यक्त गर्न सके सफल हुन कसैले नरोक्ने नगरप्रमुख सरावगीको भनाई छ । कार्यक्रममा त्रिजुद्ध स्कुलका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, सामाजिक अभियानता ओमप्रकाश सर्राफ, स्माईल डेन्टल क्लिनिकका निर्देशक डा. आमिर आलम, हेल्थ असिस्टेन्ट एम.डी. सैनुल्लाह हवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहभागीहरुको उत्साहजनक उपस्थिती र उर्जापरक प्रस्तुतीले प्रफुल्लित बनाएको निर्णायकहरुको प्रतिक्रिया छ ।

कार्यक्रममा सहयोग गर्ने पर्सा हेल्थ क्लिनीक प्रा.ली., स्माईल डेन्टल क्लिनिक, आविस्कार सब्लिमेसन, सारा होजियारी र यात्रा डेलीलाई कदर पत्रमार्फत सम्मान गरिएको थियो । चाईल्ड हब नेपालका बरिष्ठ सदस्य जय यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण सूर्यनारायण वि.क.ले गरेका थिए ।






