काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा अध्यक्षका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ ।
शनिबार राति अबेर सम्पन्न मतदानपछि हाल मतगणना भइरहेको छ । अहिलेसम्म अध्यक्ष बाहेक अन्य पदको लागि भएको मतदानको मतपरिणाम आइसकेको छ । तर मुख्य नेतृत्व अध्यक्षको भने अहिले मतगणना भइरहेको छ ।
आइतबार बिहान ५:१५ बजेसम्म एक हजार ५० मत गणना हुँदा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम गरिरहेका छन् । जसमा लिङ्देनले ५१६ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार कमल थापाले ४३१ मत प्राप्त गरेका छन् ।
अध्यक्षका लागि कुल तीन हजार ८७३ जनाले मतदान गरेका थिए। अध्यक्षको लागि भएको मतदानको परिणाम केही समयपछि नै आउने बताइएको छ । यसबाहेकका सबै पदका लागि भएको मतदानको परिणाम आइसेको तर घोषणा हुन भने बाँकी छ ।







