काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा एक विद्यार्थीले चिट चोर्न नपाएपछि शिक्षकको टाउँको फुटाइदिएका छन् ।
ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बीएएसडब्लू) दोस्रो वर्ष अध्ययनरत कुवेर जेठाराले चिट चोर्न नदिएको झोकमा मंगलबार शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
आरआर क्याम्पसमा रहेको त्रिविको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक ऋषिकेश दाहालले शिक्षक पुडासैनीको टाउँको सात टाका लगाउनुपरेको बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला ?कस्तो शिक्षा दिइरहेका छौं हामीले ।’
चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले।
— Rishikesh (@rishikeshdahal) December 21, 2021
त्यस्तै आरआरमै रहेका त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्राध्यापनरत डा. कुन्दन अर्यालले पनि यस विषयमा विद्यार्थी संगठनहरुको भूमिका के हुन्छ भन्दै प्रश्न उठाएका छन् । उनले ट्विटरमार्फत भनेका छन्, ‘आज बिहान सबेरै कक्षा सकेर निस्कँदा सुन्नु पर्यो, आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटे। पत्रकार तथा गुरु जगत नेपालले भन्नु भयो, मेरो आँखै अगाडि त्यो विभत्स घटना भयो। त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन त ? विद्यार्थी संगठनहरुको भूमिका के हुन सक्छ ?’
आज विहान सबेरै कक्षा सकेर निस्कदा सुन्नु पर्यो, आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटे। पत्रकार तथा गुरु जगत नेपालले भन्नु भयो, मेरो आँखै अगाडि त्यो विभत्स घटना भयो।
त्रिभुवन विश्वविद्यालय शान्ति क्षेत्र बन्नै सक्दैन त!??? विद्यार्थी संगठनहरुको भूमिका के हुन सक्छ!???— Kundan Aryal (@TheRealKalamchi) December 21, 2021
शिक्षकमाथि एकाबिहानै चिट चोर्न नपाएको झोकमा विद्यार्थीले आक्रमण गरेको विरोधमा क्याम्पसका प्राध्यापक संघ, प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म अध्यापन नगर्ने निर्णय गरेको छ।







