अन्जु कुमारी
वीरगंज । पर्सा, बारा लगायत मधेशका जिल्लाहरुमा सोमबार बिहान देखि चिसो ह्वात्तै बढेको छ ।
मौसममा अचानक बदली भई सोमबार बिहानै देखि हुस्सु लाग्न थालेपछि चिसो बढेको हो । बाक्लो हुस्सु, कुहिरोका कारण तराई मधेसको जनजीवनमा असर पर्न थालेको छ ।
चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ । अत्यधिक चिसोका कारण घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीय बताउँछन् । सोमबार यो वर्षकै अहिलेसम्म सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ ।
चिसोका कारण सबैभन्दा बढी प्रभावित बालबालिका र बृद्धबृद्धा हुने गरेका छन् । चिसो मौसममा बिहानै स्कुल कलेज जाने बालबालिकाहरुलाई समस्या हुने गरेको छ ।







