वीरगंज । जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा टोल स्थित नहर चोकमा स्रोत खुलाउन नसकेको रुपैया सहित एक जना भारतीय पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR-22-N-5014 नम्बरको भारतीय मोटरसाइकल चलाई आएका भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा वडा नं.५ बस्ने हरिन्द्र महतोको छोरा ३० वर्षका रंदेश कुशवाहालाई पक्राउ गरेको हो ।
हेलमेट तथा पाइन्टको खल्तीमा लुकाई छिपाई ल्याएको अवस्थामा ने.रूपैया.१०००/- दरको १३०० थान (१३,००,०००/-) र ने.रू ५००/-दरको ६०० थान (३,००,०००/-) गरी जम्मा ने.रू.१६,००,०००।-(सोह्र लाख ) फेला पारी उक्त रकम सम्बन्धमा सोधपुछ गर्दा कुशवाहाले स्रोत खुलाउन नसकेको हुँदा उनी पक्राउ परेका हुन।
उक्त रकम तथा रकम ओसारपसार गर्न प्रयोग गरेको उल्लेखित मोटरसाइकल सहित कुशवाहालाई पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसारको कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ (पाँच) दिनको म्याद अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।







