काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न भई फरार रहेका एक आरोपीलाई पक्राउ गरिएको छ ।
सामूहिक बलात्कार घटनामा संलग्न ९ जनामध्ये फरार रहेका मुगुका चन्द्र साउदलाई बुधबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसअघि ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने साउद फरार रहेका थिए ।
सोमबार साँझदेखि मंगलबारसम्म काठमाडौंका विभिन्न लगेर सामूहिक ३४ वर्षीया महिलालाई बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
१२ गते बिहान सुर्खेतबाट काठमाडौं बसपार्कमा आइपुगेकी ती महिलालाई मुगुका युवराज बडुवालले फकाइपुलाई गरेर गेष्ट हाउसमा लगेका थिए । र, त्यसै दिनदेखि उनी सामूहिक बलात्कारमा परेकी थिइन् ।
यसअघि पक्राउ पर्नेहरुमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीष रहेका छन् । तर, पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरिसकेको छैन।
प्रहरीले उद्धार गरेको महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनलाई शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा भइरहेको जनाइएको छ ।
महानगरीय प्रहरी प्रभाग बसपार्कमा ती महिला अर्धचेत अवस्थामा पुगी आफू बलात्कारमा परेको खबर सुनाएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो।







