Categories राजनीति समाचार

किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी

Advertisement

वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा.सी के राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए ।

Advertisement

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनी मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं ।’ अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’

Advertisement

जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने,‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो। किनकी एकै दिनमा यो समस्या समाधान हुने होइन ।’

‘यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आएपनि एजेण्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्पर्ता देखाएको भए हुन्थ्यो ।’ सञ्चारकर्मीहरुको जिज्ञासामा डा.राउतले भने, ‘किसान आन्दोलनको ज्ञापन पत्र नलिने तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरु दौडिरहेका छन् ।’

अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट घोषणा हुने जानकारी पनि अध्यक्ष राउतले दिए । मौसमको खराबीका कारण हाइबे केन्द्रीत आन्दोलन ग्रामिण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताए ।

किसान आन्दोलनको विरोध गर्नेहरुप्रति लक्षित गर्दै अध्यक्ष राउतले भने,‘किसान आन्दोलनमा किसानहरुले प्रहरी–प्रशासनको दमनको सामना गरिरहँदा यहीँकै केही पार्टीहरु जो प्रदेश सरकारमा छन् संघीय सरकारमा छन् उनीहरुले आन्दोलनको विरोधमा प्रदर्शन गरे । प्रेस विज्ञप्ति जारी नै गरेर आन्दोलनमा दमन गर्न प्रोत्साहन गरे ।’

कृषि मन्त्री मधेशकै भएपनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर अध्यक्ष राउतले गरे । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे ।

जनमत पार्टीले किसान आन्दोलन मात्रै होइन जनताको जनजिविकासँग सम्बन्धीत मागहरुमा समेत आन्दोलन गर्दै आएको र गरिरहने जनाए ।
‘हाम्रो पार्टीको झण्डामा अष्ट दल छ । जनमत पार्टी सम्यक क्रान्ति अनुसार अगाडि बढ्छ । सम्यक क्रान्तिमा आठवटा आयाम छ ।’ उनले भने,‘राजनीतिक, आर्थिक, समाजिक, शैक्षिक, वातावरणीय, सांस्कृतिकलगायतको क्रान्ति हुनेछ ।’

अध्यक्ष राउतले भने, ‘सीके राउत किसान नभएर पनि किसानको आन्दोलन गरेको भनेर आलोचना भइरहेको छ । उहाँहरुलाई हामी भन्न चाहान्छौं, महिलाको अधिकारका लागि पनि जनमत पार्टीले आन्दोलन गर्नेछ त्यसबेला नभन्नु होला कि सीके राउत त महिला होइन तर महिलाको आन्दोलन किन गर्छ ?’

किसान आन्दोलनमा उठेका मागहरु दिर्घकालिन समाधानका लागि किसानसँग सम्बन्धीत विधेयक ल्याएर ठोस कानुन नै बनाउनु पर्ने भएकाले आफूहरुको माग संघीय सरकारसँग रहेको डा.राउतले बताए । मधेशवाणी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *