वीरगन्ज । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व मानिएको होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन ‘फागु’ काे रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट काे रुपमा मनाइन्छ ।
मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।
हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्ने पर्वकाे रुपमा मधेशमा मनाइन्छ । यस पर्वले असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको मान्यता छ ।
रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।
फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने गरिन्छ । राति सामूहिकरूपमा होलिका दहन गरिन्छ ।
संस्कृतिविद्हरुले होली पूर्ण प्रजातान्त्रिक पर्व भएकाले यसमा जातजाति र वर्गमा भेदभाव नगरी धनी, गरीब, उच, नीच सबै मिलेर मनाउने परम्परा भएकाले सदियौँदखि जीवन्त रहँदै आएकाे बताउँछन् ।
सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने मान्यतासमेत रहेको पाइन्छ ।



