वीरगञ्ज । वीरगञ्ज महानगरको ट्राफिक व्यवस्थापन, पार्किङ, सडक लेन लगायतका समस्याका बारेमा नवनिर्वाचित मेयर राजेशमान सिंहले ट्राफिक प्रहरी प्रमुखसँग जानकारी लिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दाहाललाई कार्यकक्षमा बोलाएर महानगरको ट्राफिक व्यवस्थापनमा भइरहेका काम र देखिएका समस्या बारेमा मेयर सिंहले जानकारी लिएका हुन् ।
यसका साथै ट्रान्सपोर्ट तथा हेभी गाड़ी लोड अनलोड लगायत विषयमा पनि मेयर सिंहले जानकारी लिएका थिए ।
ट्राफिक व्यवस्थापनका रुट छुट्याएर सवारी आउजाउको व्यवस्था मिलाउने वातावरण महानगरले बनाइदिए सहज हुने ट्राफिक प्रहरी प्रमुख दाहालको प्रतिकृया थियो ।
साथै पार्किङको समस्याका कारण सडकमै सवारी पार्किङ गरिँदा साँघुरा सडक झनै साँघुरा भएकाले पनि आउजाउमा कठिनाई आउनुका साथै ट्राफिक व्यवस्थापन चुनौति देखिएको उनको भनाई थियो । त्यसका लागि छुट्टै पार्किङ क्षेत्र बनाउनु जरुरी रहेको भन्दै महानगरले त्यसमा काम गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
महानगरले वीरगञ्जको ट्राफिक व्यवस्थापनका लागि छुट्टै पार्किङ क्षेत्र निर्माण गर्नुका साथै अहिले भइरहेको जथाभावि पार्किङलाई कम गर्न आवश्यक सहकार्य गरेर अघि बढ्न ट्राफिक प्रहरीसँग आग्रह गरे ।







