काठमाडौँ । हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज (मंगलबार) मनाउँदैछन् ।
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।
तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्ने गरेका छन् ।
हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।
आफूले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।
विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।
दिनभरी व्रत बसेर साझमा भगवान शिवको आराधना गरेर गीत तथा नाचगान गर्ने चलन रहेको छ । घरमा महिलाले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन रहेको छ । यसरी छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमा बुबा दाजु भाई दिदी बहीनी छाड्न बाध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्छन् ।
मधेसमा तीज
मधेसी समुदायमा तीजको व्रत पहाडी समुदायभन्दा केही भिन्न हुन्छ। सबै जातजातीका महिला श्रीमान्को दीर्घायुको कामना गरी व्रत बस्ने गर्छन्। व्रतको एक दिनअगावै ‘नहायखाय’ अर्थात् चोखोनीति गरिन्छ। यस दिन कपाल धोएर चोखो खाने कुरा खाई आफूलाई व्रत बस्न मानसीक रुपमा तयार गर्छन्। माछा मासु, लसुनप्याज, मसुरोको दाललगायत खानेकुराहरू व्रतको एक दिनअगावै वर्जित गरिएको हुन्छ।
तीज व्रत २४ घण्टा निराहार (पानी पनि नखाई) बस्ने गर्छन्। यस दिन शिवपार्वतीको अर्धनारिस्वर रूपको पुजाविधि विधानका साथ गरिन्छ। राती पनि पूजाआरती गरेर जाग्राम बस्ने परम्परा छ। र, अर्को दिन बिहानै पूजा बिर्सजनपछि मात्रै अन्नजल ग्रहण गर्ने गरिन्छ। पूर्ण निष्ठाका साथ व्रत बसे परिवारमा सुख शान्ती छाउने, श्रीमान्को आयु लामो हुने जनविश्वास छ।







