वीरगञ्ज । चर्को घामका कारण खडेरी भएको बेला आज बिहानैदेखि वर्षा भएपछि पर्साका किसानहरु खुसी भएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुसी भएका हुन् ।
लामो समयदेखि पानी नपरेकाले किसानहरुले लगाएको धान बाली प्रभावित भएकोमा परेको पानीले राहत महसु्स भएको पर्साका किसानहरु बताए ।
धान रोपाई गर्ने बेलामा नै आवश्यक मात्रामा पानी नपर्नु र त्यपछि पनि खडेरी भएपछि किसानहरु चिन्तामा थिए । सिँचाइ अभावमा धान बाली डढने समस्या देखिन थालेको थियो ।
तर सिमसिमे पानी परेपनि धान खेतीमा राहत हुने विश्वास किसानहरुमा छ ।
बिहानैदेखिको सिमसिमे पानीका कारण वातावरण पनि सितल भएको छ ।
