श्याम सरार्फ
वीरगन्ज । वीरगन्जमा रहेको आस्थाको केन्द्र मध्येको प्रमुख शक्तिपीठ माइस्थान मन्दिर अगाडि पहिले रहेको कालोपत्रे सडकलाई भत्काएर युरोपियन स्टाण्डर्सको पेबर्स (इन्टरलक) लगाउन थालिए पछि वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहको प्रशंसा भइरहेको छ ।
मन्दिर सौर्न्दर्यकरणको कार्य शुरु भएसंगै घुम्न आउनेको चाप पनि बढेको हो । मन्दिर अगाडि पक्की रंगीचंगी लगाइएको पेभर्सले सबैको ध्यान मन्दिर तर्फ तानिरहेको छ । यही भदौ अन्तिमसम्ममा काम सम्पन्न गर्ने गरी साउन ३० गतेबाट काम सुरु गरिएको थियो । समय कम रहेकोले दिन रात काम भइरहेको महानगरले जनाएको छ ।
मन्दिर अगाडीको सडकको काम अहिले भइरहेको र यो सडकको काम सकिनासाथ मन्दिरको दायाँ बायाँ दुवैतर्फको सडकमा पनि पेभर्स लगाउने काम सुरु हुने वीरगञ्ज महानगरका मेयर सिंहले जानकारी दिए ।
काम सुरु भएको पहिलो दिन साँझ आफै अनुगमनमा पुगेका मेयर सिंहले काम यथाशक्य चाँडो सम्पन्न गर्न निर्माणमा संलग्नहरुलाई निर्देशन दिएका थिए ।
एक महिनाभित्र मन्दिर अगाडी र दायाँबायाँ दुवै तर्फको सडकको काम सकिने गरी आफूहरुले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।
यसले मन्दिरको सौन्दर्य बढाउनुका साथै धार्मिक पर्यटकीय क्षेत्रलाई बढावा दिने विश्वास मेयर सिंहले लिएका छन् ।
महानगरको करिब ८५ लाखको लागत यहाँ काम भइरहेको हो । यहाँ सडकका साथै नाला तथा फुटपाथमा पनि पेभर्सकै प्रयोग गरेर स्तरीय बनाउन लागिएको हो ।
यहाँ लगाउन लागिएको पेभर्स र त्यसको डिजाइन पनि मन्दिरकै रंगसँग मिल्ने गरी तयार पारिएको छ । यो पेभर्स अन्य पेभर्सको तुलनामा ४ गुणा बलियो र स्तरीय रहेको भन्दै यसले २५ टनको भार सहजै थेग्ने निर्माणमा संलग्न प्राविधिकहरु बताउँछन् ।
वीरगञ्जमा रहेका धार्मीक तथा ऐतिहासिक क्षेत्रलाई जगेर्ना गर्दै त्यसलाई स्तरिकरण गरेर हेर्न लायक बनाउनु आफ्नो उद्धेश्य रहेकाले त्यही अनुसार काम अघि बढाइएको मेयर सिंह बताउँछन् ।







