वीरगञ्ज । केही दिन यता डेंगु रोगको महामारी फैलिएपछि सरोकारवालाहरु सचेतना फैलाउन सडकमा आएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले डेंगु रोगका बारेमा सचेतना फैलाउने अभियान शुरु गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले डेंगुको महामारीबाट सुरक्षित रहन स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मेयर सिंहले स्वास्थ्यमा लापरवाही नगर्न आग्रह गर्दै आफ्नो सुरक्षा आफै गर्नुपर्ने बताए । साथै उनले महानगरले पनि स्वास्थयलाई प्राथमिकता राखेको बताउँदै त्यसकै प्रतिफलस्वरुप मेयर घर दैलो स्वास्थ्य कार्यक्रम शुरुवात गरिएको पनि जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पनि स्वास्थय सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । मुख्यतयाः लामखुट्टेको प्रकोप यस क्षेत्रमा बढी भएकाले पनि घर आँगन सफा राख्नुपर्ने ढकालको सुझाव छ ।

सोही अवसरमा डेंगु सम्बन्धी सचेतना जगाउने जिंगलमार्फत प्रचारप्रसार गर्नुका साथै २ हजार जना पैदल यात्रुदेखि सवारी साधनका चालक र आवागमन गर्नेहरुलाई पर्चा पम्पलेट वितरण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति एवम् प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, श्रीजंग गण वीरगञ्जका सेनानी किशोर अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरी, बोर्डर आउट पोष्ट भन्सार ईनर्वाका सशस्त्र प्रहरी निरीक्षक तिर्थराज न्यौपाने, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, वीरगञ्ज महानगरपालिका सरसफाई शाखाका प्रमुख सर्फुदिन मियाँ लगायतको उपस्थिती रहेको दिलिपराज कार्कीले जानकारी दिए ।







