वीरगञ्ज । पर्सा जिल्लामा भोलि देखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले रोक लगाएको छ ।
आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी सुचना जारी गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा हस्ताक्षरित सूचनापत्रमा मतदानको कार्य सम्पन्न नभए सम्मका लागि पर्सा जिल्ला भरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसार पसार, बिक्री वितरण कार्य र सेवन गर्न पुर्ण रुपमा निषेध गरिएको जनाइएको छ ।
ईजाजत पत्र प्राप्त गरेकाहरुलाई समेत मदिराजन्य पदार्थ बिक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले मदिराको बिक्री तथा सेवनमा रोक लागेका कारण निणर्य कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारणसँग समेत आग्रह गर्नु भएको छ ।



