वीरगन्ज । पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भइसकेको भएता पनि उनलाइ निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र अझै सम्म दिएको छैन ।
मतगणना सम्पन्न भइ अन्तिम नतिजा आएको ४८ घण्टा बित्न लाग्दा समेत पर्सा ३ को निर्वाचन अधिकृतको कार्यालयले गुप्तालाई निर्वाचित भएको प्रमाणपत्र दिएकाे छैन ।
निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ मत मात्रैको झिनो अन्तरले पराजित गरेको भनिएका गुप्ताले निर्वाचित भएको ४८ घण्टा बित्दा पनि निर्वाचन अधिकृतको कार्यालयबाट अहिले सम्म प्रमाणपत्र नपाउदा अनेक आशंकाहरु उब्जिएको छ ।
यसका साथै काँग्रेसका उम्मेदवार चौधरीले पनि मतगणनामा गडबड गरिएकोले रिकाउन्टिङ (पुन गणना ) गर्नु पर्ने माग गर्दै निवेदन दिएकाले यसले पर्सा ३ को विजेता को हुने भन्ने प्रश्न उठेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले पनि पर्सा ३ मा गुप्ता निर्वाचित भएको भनेर आधिरीक घोषणा पनि अहिले सम्म गरेको छैन । यद्यपि निर्वाचन आयोगको वेभ साइटमा भने गुप्ता २४ हजार २६० .मतका साथ निर्वाचित भएको उल्लेख छ । वेभसाइटमै चौधरीले भने गुप्ता भन्दा १५१ मत मात्रै कम अर्थात २४ हजार १०९ मत पाएको उल्लेख गरिएको छ ।
आइतबार मतदानका दिन पर्सा ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको देखिन्छ ।
मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसार पर्सा ३ को प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ ६४ हजार ४ सय ४८ मत खसेको तर मतगणनाका क्रममा मतपेटिकाहरुबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको पर्सा ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए ।
उनका अनुसार , प्रत्यक्ष तर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मत भन्दा २७२ मत कम भएको देखिन्छ । ढकालका अनुसार , गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ ।
कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या , मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकाल पनि स्वीकार्छन् ।
उनले मतदानका क्रममा केहि मतदाताले प्रत्यक्ष तर्फको मतपत्र , भूलवस समानुपातिक तर्फको मतपेटिकामा पनि खसाएको हुन सक्ने भएकाले प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फ निर्वाचित हुने उम्मेदवारको आधिकारीक घोषणा नगरिएको र प्रमाणपत्र पनि वितरण नगरिएको बताए ।
ढकालले भने ,‘ अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ , शनिबार दिउँसो सम्म सकिन्छ होला , समानुपातिककोे गणना सकेर प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आधिकारीक रुपमा घोषणा गर्नुका साथै प्रमाणपत्र पनि वितरण गर्छौ ।
ढकालले भने,‘ अहिले भइरहेको समानुपातिकको मतगणनाका क्रममा समानुपातिकको मतपेटिकाबाट प्रत्यक्ष तर्फका पनि मतपत्र छिट्फुट भेटिइरहेका छन् , यसरी भेटिएका मतपत्र , प्रत्यक्ष तर्फमा जोडिन्छ , अनि मात्रै आधिकारीक घोषणा हुन्छ ।
यता पराजित भनिएका काँग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाए । उनले भने ,‘ १५१ मतले म हारेको भनिएको छ , तर गणनामा २७२ मत नै कम छ , त्यो २७२ मत आखिर कहाँ गायब भयो ? अर्को कुरा गणनामा पढे नलेखेका निरक्षर गणकहरुलाइ पनि खटाइएको थियो , गणनामा नै षडयन्त्र गरिएको छ । त्यसै ारण रि–काउन्टिङका लागि आफुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पनि दिइसकेको चौधरीले बताए ।
नेपाली काँग्रेसका स्थानीय नेता एंव पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले पनि प्रत्यक्ष तर्फको मतपत्र केहि मतदाताले भूलवस , समानुपातिक तर्फको मतपेटिकामा खसाएको जिकिर गरे । उनले गणनाका क्रममा प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको ७४ वटा मतपत्र भेटिएको बताए ।
रौनीयारले भने ,‘ प्रत्यक्ष तर्फको मतपेटिकाबाट सामानुपातिकको मतपत्र पनि भेटिएको थियो, यस्तै प्रातिनिधीसभा सदस्य प्रत्यक्ष तर्फको मतपत्र , प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फको मतपेटिका पनि भेटिएको थियो , त्यसका कारण समानुपातिकको पनि मतगणना नसकिए सम्म प्रत्यक्षमा को जित्छ ? को हार्छ भन्न सकिन्न । हामी त्यसैको प्रतिक्षामा छौ ।







