वीरगन्ज । मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा दर्शकको उल्लेख्य साथ पाएको छ । मानवता प्रवर्द्धन तथा मानवीय सहयोगका लागि नेपथ्य लाइभ कन्सर्ट गरिएको मानव सेवा आश्रमका रामजी अधिकारीले बताए ।
आदर्शनगन रंगशालामा झण्डै पाँच हजार संगीत प्रेमीले कन्सर्टको मजा लिएको अनुमान गर्दै कुनै कन्सर्टमा यती धेरै मानिसको सहभागिता वीरगञ्जको इतिहासमै पहिलो भएको उक्त कन्सर्टका संयोजक गणेश लाठले बताए ।
वीरगञ्जका सडकमा रहेका बेसहारा, मनोरोगी तथा वेवारिसे मानिसहरुको उद्धार गरी संरक्षण गर्न तथा मानवसेवा आश्रमको भवननिर्माण एबं अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले सोमबार साँझ वीरगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गरेको हो । कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन जती नेपाली लोक/पप गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
अर्को कार्यक्रम यही २२ गते हेटौडा र २५ गते चितवनमा र त्यसपछि २९ गते नेपालगञ्ज रङ्गशालामा हुनेछ । यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्चमा, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर मैदानमा, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।







