Categories समाचार स्वास्थ्य

मेयर सिंहले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मा अहिलेसम्म ९ हजार जना लाभान्वित

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झण्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निशुल्क स्वास्थ्य जाँच गरेको हो ।

कार्यक्रममा निशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामिण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताए ।

Advertisement

वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान संचालन हुने र अहिलेसम्म ९ वटा वटाका जनताले घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको पनि उनले बताए । गाडीमै जडान गरिएको ल्याब, युएसजी र इसीजी मेसिनले कार्यक्रम संचालन भएको स्थानमा आवश्यक जाँच गरेर रिपोर्ट दिने गरेको छ । यसले बजारका अस्पतालमा धाइरहनु पर्ने ग्रामिण क्षेत्रका जनतालाई राहत दिएको बताउँछन् बसडिलवाका अनिष महतो । यो कार्यक्रम अहिलेलाई मात्रै सिमित नराखी निरन्तरता दिनु पर्नेमा उनको जोड छ ।

Advertisement

शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई महानगरपालिकाले उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधी त्यहीँ उपलब्ध गराउँदै आएको छ ।
वीरगञ्जको वडा नम्वर ३० लालपर्साबाट भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको हो ।

अहिलेसम्म वडा नम्वर ३० लालपर्सासहित वडा नम्वर ३१ बेलवा, ३२ चोर्नी, १८ भवानीपुर, १७ अलौँ, २६ सुगौली, १९ विन्दवासिनी, २० हरपतगञ्ज र २९ बसडिलवामा यो अभियान सम्पन्न भइसकेको छ । आइतबारदेखि पुनः अर्को वडामा यो अभियान संचालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । ‘अहिलेसम्म ९ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडामा पनि हामी क्रमैसँग कार्यक्रम गर्दै जानेछौँ ।’

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा जनताको घर आगनमै आएर स्वास्थ्य जाँच गर्नुका साथै निशुल्क औषधी समेत उपलब्ध गराइने भएकाले फाइदा उठाउन सबैलाई उनले आग्रह गरे ।

अहिलेसम्म ९ वटा वडामा चलेको कार्यक्रममा ५ हजार ५ सय ६२ जना महिला र ३ हजार २ सय १७ जना पुरुषले स्वास्थ्य जाँच गराएको पनि उनले जानकारी दिए । यस्तै १ हजार ८ सय २२ जनाले ल्याव सेवा लिएका छन् भने ३ सय ५५ जनाले युएसजी र ६७ जनाले इसीजी सेवा लिएको पनि स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *