काठमाडौं । मन्त्रिपरिषद विस्तारका लागि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि पहिलो पटक आज सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
बैठकमा मन्त्रालयको भागबण्डाका विषयमा छलफल हुने जनाइएको छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिएका थिए ।
मन्त्रिपरिषद विस्तारकै विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । आजको बैठकमा विनाविभागीय मन्त्रीहरुको पनि मन्त्रालय टुंग्याइने तयारी भइरहेको हो ।
हालको सरकारमा सत्ता पक्षमा ७ दलहरु रहेका छन् । उनीहरुले न्यूनतम साझा कार्यक्रम मार्फत समर्थन गर्दै सरकारमा सामेल हुन लागेका हुन् । तर मन्त्रालय भने टुंगो लाग्न सकेको छैन ।







