बीरगञ्ज । स्रोत खुल्न नसकेको ८ लाख २० हजार रुपैयाँ सहित बीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले सूचनाको आधारमा चेकजाँच गर्दा वीरगञ्ज १६ इनर्वाका २५ वर्षीय ओमकुमार साहलाई उक्त परिमाणको रकमसहित पक्राउ गरेको हो ।
साह सीमावर्ती बजार रक्सौलबाट ना ३५ प ८४३४ नम्बरको मोटरसाइकलमा वीरगञ्ज आइरहेका थिए । उनले हेलमेटमा पैसा लुकाएर ल्याएको र त्यसको स्रोत खोल्न नसकेपछि पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विदुर सिवाकोटीले जानकारी दिए ।
साहको साथबाट बरामद भएको रकम हुण्डी कारोबारको भएको प्रहरीको दावी छ । पैसा सहित पक्राउ परेका साहलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।



