वीरगञ्ज । सङ्घीय सरकारले सौतेनी व्यवहार गरेको मेयर राजेशमान सिंहले आरोप लगाउनुभयाे । देशको राजश्वमा सबैभन्दा ठूलो योगदान गर्ने वीरगञ्जसँग सङ्घीय सरकारले बजेट विनियोजनमा सौतेनी व्यवहार गरेको मेयर सिंहले आरोप लगाउनुभयाे ।
वीरगञ्जमा शनिबार आयोजित उद्योग वाणिज्य सङ्घको ४६ औं साधारणसभाको उदघाटन सत्रमा बोल्दै मेयर सिंहले अघिल्लो वर्षमा तुलनामा सङ्घ सरकारले वीरगञ्जलाई पाँच करोड रुपैयाँ कम बजेट पठाएको र सङ्घ सरकारले दिँदै आएको अनुदानमा समेत कटौती गरेको हाे ।
सङ्घीय सरकारका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले शर्मा तर्फ इंकित गर्दै भने “देशको ढुकुटी भर्न सरकारले वीरगञ्जबाट अर्वौँ राजश्व लिएर गएपनि बजेट दिने बेला कटौती गरेर दिएको देख्दा मलाई अच्चम लाग्छ । यस्तो व्यवहारमा परिवर्तन आउनुपर्छ । वीरगञ्जसँग सौतेनी व्यवहार गरेर देशमा समृद्धि र विकास सम्भव छैन ।”
वर्षौं देखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना रहेको, कृषि औजार कारखाना र अन्य उद्योगहरु पनि सरकारले सञ्चालनमा ल्याएर यहाँका युवाहरुको लागि रोजगार सृजना गर्नुपर्ने मन्त्री शर्मालाई सिंहले आग्रह गरेकाे हाे । स्थानीय उद्योग व्यवसायीहरुलाई सङ्घ सरकारसँग मिलेर चिनी कारखाना सञ्चालन गर्ने गृहकार्य गर्न सुझाव पनि दिएकाे हाे ।







