चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो।
टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज ल्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।







