वीरगञ्ज । मानव बेचबिखन राेकथाम गर्न दुबै देशका सुरक्षाकर्मी र संघसंस्थाबीच सहकार्य अनिवार्य रहेकाेमा सराेकारवालाहरुले जाेड दिएका छन् ।
मानव बेचबिखन रोकथाम इकाई (क्षेत्रीय मुख्यालय बेतिया) सशस्त्र सीमा बल र गैरसरकारी संस्था प्लान इन्डियाकाे आयाेजनामा वीरगञ्ज-रक्सौल नाकामा अवस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा भएकाे दुबै देशका सुरक्षाकर्मी र संघसंस्ठाका प्रतिनिधीहरुकाे बैठकमा सराेकारवालाहरुले यस्ताे जाेड दिएका हुन् ।
नेपाल र भारतको खुल्ला सीमाबाट हुने मानव बेचबिखनमा पूर्णरुपले रोक लगाउन र दुवै देशका सरकारी संयन्त्र, प्रहरी एकाई र गैर सरकारी संघसंस्थाबीच अनिवार्य सहकार्य हुनु पर्नेमा जाेड दिइएकाे थियाे ।
बैठकको सञ्चालन गर्दै भारतीय प्रहरीका निरीक्षक मनोजकुमार शर्माले समयसमयमा मानव तस्करको पहिचान गर्दै कारवाहीका लागि मानव तस्करको तथ्यांक तयार गर्न आग्रह गरेका थिए ।
मानव बेचबिखन नियन्त्रण इकाई (क्षेत्रीय प्रधान कार्यालय बेतिया) कार्यालय ४७ औं वाहिनी सशस्त्र सीमा बलले सीमानामा हुने मानव बेचबिखन अपराधमा मात्र नभई अन्य राज्यका सरकारी संघसंस्था र गैरसरकारी संस्थासँगको सहकार्यमा पनि काम गरिरहेको इन्स्पेक्टर शर्माले जानकारी गराएका थिए ।
नेपाल र बिहारका धेरै पीडित भारतका अन्य राज्यबाट उद्धार गरी घर फर्किने तयारीमा रहेको जानकारी समेत उनले दिएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले मानव बेचबिखनका नयाँ-नयाँ उपायलाई नियन्त्रण गर्न दुवै देशका प्रहरीले सहकार्य गर्नुपर्ने बताएका थिए । प्रहरी निरीक्षक मल्लले पछिल्लो समय शहरी क्षेत्र मात्र नभई ग्रामिण क्षेत्रबाट मानव बेचबिखन गर्ने गिरोहहरु फस्टाईरहेको औल्याउँदै स्थानीय सरकारी र गैरसरकारी संस्थाले यहाँ महत्वपूर्ण भूमिका खेल्न सक्ने जिकिर गरेका थिए ।
उनले सीमा क्षेत्रमा आपसी समन्वय र मानव बेचबिखन रोकथामका सन्दर्भमा देखिएका समस्याका बारेमा पनि जानकारी गराएका थिए । नेपाल प्रहरीले मानव बेचविखन अन्त्य गर्न कुनै कसर बाँकी नराखेको र सीमानाकामा देखिएका कमजोरीलाई सुधार गर्दा पूर्ण रुपले मानव बेचविखन अन्त्य हुने जिकिर गरेका थिए ।
बैठकमा सबै गैरसरकारी संस्था र सरकारी संघसंस्थाले बालबालिकाको समूह बनाउने सहमति पनि गरेका थिए । समूहले अन्य बालबालिकालाई मानव बेचबिखनका बारेमा सचेत गराउने र कुनै समस्या भएमा प्रहरी र प्रशासनलाई जानकारी गराउने छन् ।
मानव बेचविखनको सम्बन्धमा छलफल गर्न नेपालको पर्सा र भारतको बेतिया र मोतिहारीका प्रतिनिधिहरुबीच पहिलो पटक छलफल भएकाे हाे ।
बैठकमा भारतको तर्फबाट मुख्यतया डेपुटी कमाण्डेन्ट एल बसन्त, इन्स्पेक्टर/जीडी मनोज कुमार शर्मा, इन्स्पेक्टर ऋतुराज, प्लान इन्डियाका रामजनम, प्रयास रक्साैलकी आरती कुमारी र नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष बस्नेत, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, आफन्त नेपालका विनोद खाती, माइती नेपालीकी गोमा पाैडाेल लगायत विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दिशानिर्देश







