वीरगन्ज । वीरगन्जलाइ हराभरा बनाउने कार्यलाइ निरन्तरता दिन आजदेखी वृक्षरोपण कार्यक्रमको शुभारम्भ भएको छ ।
वीरगन्ज महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि संघीय सरकारका वन तथा बाताबरण मन्त्री प्रदीप यादव रहनुभएको थियो ।
मन्तव्य राख्दै प्रमुख अतिथि यादवले वीरगन्ज महानगरलाई हरित शहर बनाउँदै वातावरण संरक्षण गर्नका निमित्त महानगरले थालेको सराहनीय काममा आफुलाइ पनि हिस्सा बनाउनु भएकोमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाइ धन्यवाद दिएका थिए।
महानगरपालिकाले शनिबारबाट भानुचोकदेखि घण्टाघरसम्मको सडक डिभाइडर तथा वाइपास सडक बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गर्न थालेको छ ।
बाइपास सडकको गण्डकदेखि रजतजयन्ती चोकसम्मकै डिभाइडरमा लगभग २२ सय वृक्ष रोपण गरिने महानगरका प्रमुख सिंहले जानकारी दिए ।
बाइपास सडक र लिंकरोडबाट सुरु भएको यो अभियान ३२ वटै वडामा लैजाने बताउँदै उनले रोपिएका विरुवा हुर्काउन स्थानीयको सहयोगको अपेक्षा रहने विश्वास पनि गरे ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री यादव, वीरगन्ज महानगरपालिकाका मेयर सिंह, प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायतको सहभागिता रहेको थियो ।







