Categories समाचार

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य आयोजनामा हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते देखि बैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएको भन्दै उहाँले यसले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने पनि बताउनुभयो ।

Advertisement

यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारको महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गर्ने पनि उहाँले बताउनुभयो । ‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागेका हौँ,’ उहाँले भन्नुभयो, ‘यसले यहाँका व्यवसायी तथा आम नगरवासिले रात्रि बजारबाट लाभ लिन सक्ने विश्वास लिएका छौँ ।’

Advertisement

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थीक अवस्था चलायमान बनाउन आयोजना गर्न लागिएकाले तीन दिनको स्टलको शुल्क १ हजार रुपैयाँ मात्रै लिइएको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताउनुभयो । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्रीबजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु रहने उहाँले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहने छन् । रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेन उहाँले बताउनुभयो ।

रात्रि बजार सुरक्षित रुपमा लगाउन स्थानीय प्रशासनसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर रात्रि बजारको लाभ उठाउन पनि मेयर सिंहले सबैलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, रात्रि बजार व्यवस्थापन समितिका जयप्रकास खेतान, नुतन सरावगी, संजय अग्रवाल लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजिकरण महानगर प्रमुखका प्रेस सल्लाहकार महेस दासले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *