Categories समाचार

वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा

Advertisement

वीरगञ्ज । कही तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न ? यदी जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ । 

मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए । 

Advertisement

“जथाभावी फोहर फाल्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन”, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भने, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृतरुपमा घटेको छैन ।” त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने  तयारी गरिएको उनले बताए ।

Advertisement

गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी तीन सय ६२ जनाबाट महानगरले रु आठ लाख ७१ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । “घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने प्रवृत्ति छ”, मियाँले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ  ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । 

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।  महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । 
    
विगतमा डम्पिङसाइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङसाइड बनाएपछि फोहरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उनले बताए ।     

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । 

केही वर्षअघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता,  माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् । आर्थिक राजधानीको रुपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवद्र्धनका लागि नगरक्षेत्रको सरसफाइलाइ उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताए ।
        
“बढ्दो जनघन्त्व र सडकमै फोहर फ्याल्ने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो”, नगरप्रमुख सिंहले भने, “फोहर व्यवस्थापन गरी वीरगञ्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु ।” बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण वीरगञ्ज महानगरपालिकामा दैनिक फोहर उत्पादन बढ्दै गएको छ । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *