वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली नम्बर प्लेट भएको चार पाङ्ग्रे (चक्के) सवारी साधनको प्रवेशमा लगाइएको रोकलाई फुकुवा गरिएको छ ।
मङ्गलवार बिहानदेखि नेपाली नम्बर प्लेट भएको चार चक्के सवारी साधनलाई रक्सौल प्रवेश गर्न विशेष पास लिनुपर्ने नियम लगाइए पनि त्यसलाई बुधवारदेखि हटाइएको हो ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीका अनुसार भारतीय कस्टममा रहेका कर्मचारीहरूको त्रुटिका कारण मङ्गलवार एक दिनका लागि सवारीसाधन प्रवेशमा रोक लगाइए पनि हाल त्यसलाई सच्चाइएको छ । नेपाल नम्बर प्लेट भएको चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेश गर्न कुनै पनि किसिमको पास अथवा अनुमति लिनु नपर्ने उनले स्पष्ट पारे ।
“कस्टमका एक जना कर्मचारीले गलत सूचना दिँदा केही समय अन्योल भएको हो । अहिले निर्बाध रूपमा सवारीसाधन प्रवेश गर्न पाइरहेका छन् । दूतावास पुगेर विशेष पास लिनुपर्दैन,’ ती अधिकारीले भने ।
रक्सौलमा रहेको भारतीय कस्टमका सुरक्षा अधिकारीहरूले मङ्गलवार नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेशका लागि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासबाट पास लिनु बताएपछि अन्योल सृजना भएको थियो । दूतावासको पास नलिएका नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनलाई भारतीय कस्टममा खटेका सुरक्षाकर्मीहरूले मङ्गलवार प्रवेश पनि गर्न दिएका थिएनन् ।
यद्यपि अहिले नेपालबाट रक्सौल तर्फ गएका चार चक्के सवारीसाधनले सहजै प्रवेश गर्न पाएका छन् ।






