Categories धर्म/संस्कृति

हरेक वर्ष रक्षाबन्धनको एक दिन अगाडि हुने बौधीमाई मन्दिरको विशेष पूजामा दर्शनार्थीको भिड

वीरगञ्ज । प्रत्येक वर्ष झैँ यस वर्ष पनि रक्षाबन्धनको एक दिन अगाडि वीरगञ्ज महानगरपालिका – १० स्थित बौधीमाई मन्दिरमा विशेष पूजा भइरहेको छ । आजको दिन मन्दिरमा विशेष पूजासहित मेलाको पनि आयोजना हुन्छ । 

सयौँ वर्ष देखि श्रावण शुल्क पक्ष चतुर्दर्शीका दिन वीरगञ्जको घडीअर्वा अशोक बाटिका टोलस्थित बौधीमाई मन्दिरमा आजको दिन विशेष पूजा गर्ने चलन छ । 

Advertisement

आजको दिन बौधीमाईको मन्दिरमा विशेष पूजा गर्नुका साथै खोँइछ भर्ने र पशु बली दिने गरिन्छ । जहाँ पर्सासहित बारा, रौतहट र छिमेकी राष्ट्र भारतसमेतबाट आएका श्रद्धालुहरूले पूजा गर्ने गरेका छन् ।

Advertisement

बौधीमाईको पूजा गर्दै उहाँसँग मागिएको सबै मनोकामना पूरा हुने जनविश्वास छ । त्यसैले हजारौँको सङ्ख्यामा आउने श्रद्धालुहरूले पूजा गर्दै खोँइछ भर्ने गरेका छन् । खोँइछ भर्दै श्रद्धालुहरूले बौधीमाईसँग सन्तान प्राप्ति, समृद्धि, पारिवारिक खुसी, परिवारका सदस्यहरू दीर्घायु, स्वास्थ्य लाभको कामना गर्ने गरेका छन् । जसलाई स्थानीय भाषामा भाकल पनि भन्ने गरिन्छ । त्यहीँ भाकल पूरा भएको खण्डमा श्रद्धालुहरूले अर्को वर्ष मन्दिरमा नरिवल, खसी, बोका, हाँस, कुखुरा आदीको बलि चढाउने गरेका छन् ।

मन्दिरमा पूजा गर्ने आउनेमा विशेष गरी महिला हुने गरेका छन् । आज त्यहाँ लाग्ने मेलामा विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिन्छ । 

मन्दिरमा प्रथम पूजा मन्दिरका संस्थापक परिवारका गौरी शङ्कर साह कानु, लखन साह कानु, अमर साह, पासपत साह, मदन साह, मनोहर साहलगायतका परिवारबाट गर्छन् भने उनीहरू पश्चात् अन्य भक्तहरूका लागि मन्दिरका ढोका खोलिने गरिएको छ । 

सयौँ वर्ष अगाडि धनसर साह कानु परिवारले मन्दिरको स्थापना गरी हरेक श्रावण महिनाको शुल्क पक्ष चर्तुदर्शीका दिन बौधीमाइको पूजा गर्ने चलन सुरु भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *