वीरगन्ज । गर्मीमा चिसो आइसक्रिम खान सबैलाई मनपर्छ । भेनिल्ला, बटरस्कच, ट्वान्टीवान लभ, चकलेट, स्ट्रबेरीलगायतका आइसक्रिमका विभिन्न फ्लेभरबाट अवगत हुनुहुन्छ होला नै तर प्लास्टिकबाट बनेको आइसक्रिमबारे कहिल्यै सुन्नुभएको छ ?
सेन्ट्रल सेन्ट मार्टिन्स डिजाइन स्कुलको अन्तिम वर्षको प्रोजेक्ट अन्तर्गत इलियोनारा ओर्टोलानीले अरू कसैले नगरेको कुरा गर्न खोजिन् । गिल्टी फ्लेभर नामको प्रोजेक्टमा ती युवा डिजाइनरले प्लास्टिकलाई पुनर् प्रयोग गरिने शैलीमा आफ्नो असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास गरेकी छिन् । पछिल्लो समय प्लास्टिकमा रेसिन्स र अन्य तत्त्व मिसाइने भएकोले पुनर् प्रयोगमा समस्या भइरहेको छ । यसले धेरै समस्या निम्त्याइरहेको उनलाई भान भयो । प्लास्टिकको झोला एउटा मात्रै किराले पचाउँछ भनेर थाहा पाएपछि उनले यसलाई मानिसले पनि पचाउन सक्छन् कि सक्दैनन् भनेर अनुसन्धान गर्न थालिन् ।
‘मैले प्लास्टिक प्रयोग गरेर कुनै खानेकुरा बनाउन सकुँला भनेर कहिल्यै सोचेकी पनि थिइनँ,’ ओर्टोलानीले डिजेन म्यागेजिनलाई भनिन् । ‘यसमा मसँग काम गर्ने वैज्ञानिक भेट्टाउन पनि मलाई हम्मे हम्मे परेको थियो ।
अन्ततः इलियोनोराले युनिभर्सिटी अफ एडिनबर्गकी लन्डन मेट्रोपोलिटन युनिभर्सिटी फुड साइन्टिस्ट एन्ड रिसर्चर जोआना स्याडलर भेटिन् । उनले इलियोनोराले प्लास्टिकबाट सिन्थेसाइज सिन्थेटिक भेनिलिन निकाल्न सघाइन् ।
‘पहिलो इन्जाइमले चेन ब्रेक गरेपछि त्यो प्लास्टिक रहँदैन, त्यो पोलिमर पनि रहँदैन । यो मोनोमर्स भइदिन्छ,’ ती युवा डिजाइनरले भनिन् । ‘माइक्रोप्लास्टिक एक अणुजस्तो देखिन्छ तर यसलाई ब्रेक गराइएन भने यो प्लास्टिकको एउटा सानो अंश हो ।’
यो प्रक्रियाबाट जे पदार्थ निकालिएको छ, त्यो ठ्याक्कै भेनिलाजस्तो बास्ना आउँछ तर ओर्टोलानीले यसलाई चाखेकी छैनन् । उनले मात्रै होइन, अरू कसैले चाखेको छैन । यसको एउटा राम्रो कारण छ । यो विश्वको पहिलो भएकोले यसलाई खाद्य सुरक्षा निकायले पूर्ण रूपमा नयाँ सामग्री मानेको छ । त्यसैले यसलाई अध्ययन गरी उपभोगका लागि सुरक्षित नमान्दासम्म कसैले पनि यो खान पाउँदैनन् । यद्यपि, यसको मलिकुलर स्ट्रक्चर भेनिलिन सँग ठ्याक्कै मिल्दोजुल्दो छ ।
प्लास्टिक–सिन्थेसाइज्ड भेनिलिन फ्लेभरयुक्त पहिलो भेनिला आइसक्रिम हाल फ्रिजमा लक गरिएको छ र सेन्ट्रल सेन्ट मार्टिन्समा राखिएको छ । साभार राताेपाटी





