वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको छ । नगरवासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरले आफ्नै प्रयोगशाला संचालनमा ल्याएको हो ।
आइतबार प्रयोगशालाको उद्घाटन गर्नुहुँदै पूर्व वन तथा वातावरणमन्त्री समेत रहनुभएका संघीय सांसद प्रदीप यादवले सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताउनुभयो ।
महंगो मूल्यमा निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा नागरिकले सास्ति खेपिरहेको भन्दै उहाँले महानगरले सुरु गरेको जनस्वास्थ्य प्रयोगशाला जनहितकारी रहेको पनि बताउनुभयो ।
बाहिर भन्दा निकै सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गरिने गरि महानगरले वडा नं. ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब संचालनमा ल्याएको हो ।
ल्याबमा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको र अहिले विभिन्न ५४ प्रकारका परीक्षण हुने गरि सेवा सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने गरि काम भइरहेको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालय सहित ४ कोठा भवन निर्माण गरेर प्रयोगशाला संचालनमा ल्याइएको हो । प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको हो ।
प्रयोगशालामा सीबीसी १ सय ७५, लिभर फंक्सन टेस्ट २ सय, लिपिट प्रोफाइल टेस्ट ३ सयमा नै परीक्षण गरिने छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।
कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताउनु भयो ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउँमा प्रयोगशाला संचालनमा ल्याउने नीति बमोजिम आज पहिलो ल्याब संचालनमा ल्याइएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रसाशक डा.मुक्ति नारायण साह, वडा नं. ३ का वडाअध्यक्ष बैजुलाल श्वर्णकार, वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्र लगायतको सहभागिता रहेको थियो ।






