Categories समाचार स्वास्थ्य

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ गते देखि सुरु हुँदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए ।

Advertisement

यादवका अनुसार, महानगरमा फागुन १३ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत पहिलोदिन वीरगन्ज महानगरपालिका वडा नम्बर ३ वीर्तास्थित त्रिजुद्ध माविको परिसरमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाएर अभियानको सुभारम्भ गरिनेछ। त्यसपछि दोश्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने यादवले जानकारी गराए ।

Advertisement

यो अभियानमा महानगरका ७४ हजार चार सय जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सह–संयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए । उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरि दुई सय ९८ खोप केन्द्र स्थापना गरिनेछ ।

एउटा खोप केन्द्रमा न्युनतम दुई सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारीपनि उनले गराए । अभियानका क्रममा दादुरा–रुबेलाको खोप लगाउने क्रममा हुनसक्ने सम्भावित अवाञ्छित घटना व्यवस्थापनका लागि नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, डाक्टर शैलेश ठाकुर लगायत तीन जना चिकित्सकलाई जिम्मेवारीपनि दिइएको उनले बताए ।

शुक्रबार वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा कुशवाहाले यो अभियानलाई सफल पार्न वडाध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत फागुन १३ गते वीरगन्जमहानगरसंगै पर्सा जिल्लाभरनै दादुरा–रुबेला खोप अभियान सुरु हुने जानकारी गराए ।

पहिलोचरणमा फागुन १३ देखि फागुन २१ गतेसम्म वीरगन्ज महानगरको वडा नम्बर ३ तथा जिल्लाको पोखररिया नगरपालिका, पर्सागढी नगरपालिका, जीराभवानी, सखुवाप्रसौनी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकामा यो खोप अभियान सञ्चालन गरिने उनले बताए।दोश्रो चरणमा भने फागुन २७ गतेदेखि चैत ५ गतेसम्म वीरगन्ज महानगरका बाँकी ३१ वटा वडा, बहुदरमाई नगरपालिका, पकाहामैनपुर, ठोरी,छिपहरमाई ,विन्दवासिनी,धोबिनी र कालिकामाई गाँउपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने जानकारी ठाकुरले गराए ।

ठाकुरका अनुसार, दुई चरणको अभियानमा पर्सा जिल्लाभरिमा दुई लाख एक हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ ।

वडा नम्बर २२ का वडाध्यक्ष द्वारिका महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका ३२ वटै वडाका वडाध्यक्ष,महानगरको स्वास्थ्य महाशाखाका कर्मचारी, सञ्चारकर्मी लगायतकोपनि सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *