Categories समाचार

शहाबुद्दिनलाई दोहोरो नागरिकता मुद्दामा बयानका लागि झिकाउन उच्चको आदेश

वीरगंज । नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति महम्मद साहबुद्दिन (उर्फ साहबुद्दिन खाँ) समेतले झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएकोबारे बयानका लागि झिकाउन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले आदेश दिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको संयुक्त इजलासले खाँ परिवारलाई झिकाउने आदेश दिएको हो । भारतीय नागरिक रहेका साहबुद्दिन समेत उनको परिवारले झुठो विवरण पेश गरि बंशजको आधारमा नेपाली नागरिकता लिन सफल भएको भन्दै दायर भएको रिटमा उच्च अदालतले उनलाई बयानका लागि झिकाउन आदेश दिएको हो ।

Advertisement

यस अघि जिल्ला अदालत पर्साले गत पुष २४ मा आरोप प्रमाणीत हुन प्रमाण नपुगेको भन्दै फैसला गरेको थियो । उक्त फैसला बदर भागी रहेकोले जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा नागरिकता खारेजीको मागदावी सहित पुनरावेदन गरेको हो । साहबुद्धिनसहित परिवारैले झुठो विवरण पेश गरी लिएको नागरिकता खारेज हुनुपर्ने दावि सहित दायर रिटमा वादी तर्फको दावी सुन्दै उच्च अदालतले प्रतिवादीलाई कानुन बमोजिम म्याद जारी गरि उपस्थित गराउन आदेश दिएको छ ।

Advertisement

मिसिलमा संलग्न विभिन्न प्रमाण र आधार रहँदा रहँदै पनि सुरु जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचरणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रतिबादीहरुलाई म्याद जारी गरि उपस्थित गराउन आदेश गरेको हो ।

उच्च अदालतको आदेशमा भनिएको छ ‘मिसिल संलग्न रहेको भारतीय निर्वाचन आयोगबाट तैयार भएको मतदाता नामावली, फरिद मियाका छोराहरुका बिचमा अंशवण्डाको लिखत तैयार हुँदा यी प्रतिवादी मन्सुर खाँको कुनै नाम उल्लेख नहुनु, अनुसन्धानको क्रममा ख्याली सिंहले पेश गरेको प्रतिवेदन, भारतमा मन्सुर खाँले अचल सम्पत्ति हस्तान्तरण गर्दा आफ्ना बाबुको नाम सुलेमान खान भन्ने उल्लेख भएको र उक्त लिखतमा लागेको ल्याप्चे सहीछाप र प्रतिवादी मन्सुर खाँको ल्याप्चे नमुना परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँदा उक्त सहीछाप मिलेको भन्ने प्रतिवेदन समेतका आधारमा सुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रत्यर्थीको नाउँमा कानून वमोजिम म्याद जारी गरी उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु होला ।’

नेपाल सरकारको तर्फबाट दायर भएको पुनरावेदनमा विदेश भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला सिकारपुर थाना मौजे बिनबलिया तथा चेगवन प्रगन्ना मझौआ घर भई हाल वीरगंज महानगरपालिका ३ बस्ने सुलेमान खाँको छोरा मंसुर शेष भन्ने मंसुर खाँ, उनकी श्रीमती हमिदा वेगम, छोरा महमद साहबुद्दिन भन्ने साहबुद्दिन खाँ र साहबुद्दिनको श्रीमती नजमा बेगम र कान्छा छोरा महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई प्रतिवादी बनाइएको छ । महम्मद शहाबुद्दिन उर्फ साहबुद्दिन खाँ नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन । उनले पार्टीको आडमा संरक्षण पाउँदै आएको आरोप लाग्ने गरेको छ ।

दोहोरो नागरिकता छानविनमा यस अघि के के भयो कारवाहि ?
शहाबुद्दिन समेत उनको परिवारको नागरिकता खारेजीको माग गर्दै वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने जाहेरवाला राजेश मान सिंहले आवश्यक कारवाहिको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा २०६५ । ११ । ०८ मा निवेदन दिएकोमा सो निवेदन उपर कारवाहि नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबुत प्रमाण सहित जाहेरी दिएकोमा आयोगको मिति २०६८ । ०८ । २७ गतेको बैठकले निजहरु भारतीय नागरिक हुन भन्ने देखिन आएकोले प्रचलित नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ बमोजिम कारवाहि हुन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई लेखि पठाउने निर्णय भएअनुसार मिति २०६८ । ०८ । २९ मा आयोगले जिल्ला प्रशासन कार्यालय पर्सालाई कारवाहि सिफारीस ।

पक्राउ आदेश र मन्सुर खाँ पक्राउ
झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको भन्ने उजुरीमा अनुसन्धान गर्न २०७१ । ०३ । ०१ गते जिल्ला प्रहरी कार्यालय पर्साको अपराध दर्ता किताब १० नं. डायरीमा ४५३ नं. मा मुद्दा दर्ता भई शहाबुद्दिनका बुवा मन्सुर खाँ लाई पक्राउ गरी जिल्ला अदालत पर्सामा पेश गरेकोमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी मंसुर शेषबाट नगद धरौटी एक लाख वा सो बराबरको जेथा जमानि दिए लिई पुर्पक्षका लागि तारेखमा राख्नु । सो दिन नसके नियमानुसारको सिधा खान पाउने गरी थुनामा राख्न अ.व. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय पर्सामा पठाउनु भन्ने २०७१ । ०३ । २७ गतेको थुनछेक आदेश । मन्सुर खाँ २६ दिन जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा बसेका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले २०७१ असार ६ गते वडा प्रहरी कार्यालय विर्तालाई पक्राउ पुर्जी चलानी नं. १३७२३ मार्फत मोहम्मद शहाबुद्दिन भन्ने शहाबुद्दिन खाँ, आमा हमिदा बेगम र भाई महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन आदेश दिएको थियो । यद्यपी प्रहरीले पक्राउ नगरी उनिहरु पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । शहाबुद्दिन ३० हजार र उनका भाई गुड्डु १० हजार धरौटीमा तारेखमा छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *