वीरगन्ज । वीरगन्जमा लागु पदार्थ चरेसको खरिदबिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालको पहाडी जिल्लाबाट चरेस लिएर वीरगन्ज आई भारतीयलाई बिक्री गर्ने क्रममा त्यसमा संलग्न एक नेपाली र दुई भारतीय गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट चरेस १२ किलो २४० ग्राम र नेपाली नगद २ लाख ५० हजार रुपैयाँपनि बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाँउपालिका वडा नम्बर ८ का २९ बर्षिय सुरेश तमाङ, भारतको बिहार राज्यको सिवानका २४ बर्षिय महमद आलम र सिवानकै २२ बर्षिय आरिफ राज रहेका छन् ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार, वीरगन्ज भन्सार नाका क्षेत्रमा पर्ने रजतयन्ति चोकमा शुक्रबार बिहान चेकजाँचका क्रममा प्रहरीले भारतको रक्सौलबाट पैदल आउँदै गरेका आलमलाई श्रोत खुल्न नसकेको नेपाली नगद २ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धान क्रममा आलमले उक्त रकम चरेस खरिदका लागि लिएर आएको बयान प्रहरीलाई दिएकाा थिए । त्यसपछि प्रहरी वीरगन्जको घण्टाघर चोकस्थित नाारायणी गेष्ट हाउसमा पुगेको थियो । गेष्ट हाउसको १०९ नम्बर कोठामा प्रहरी पुग्दा कोठाभित्र रहेका राजको साथबाट ३ वटा पोकामा रहेको १२ किलो २४० ग्राम चरेश प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले राजलाई चरेससहित नियन्त्रणमा लिएलगत्तै गेष्ट हाउसको अर्को कोठामा रहेका तामाङ झ्यालबाट फाल हालेर भाग्न खोज्दा प्रहरीले तामाङलाईपनि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । तीन तल्ला माथिबाट हााम फालेका तामाङको खुट्टा भाँच्चिएको र प्रहरीको निगरानीमा उनको नारायणी अस्पतालमा उपचार भइरहेको थापाले जानकारी दिए ।
प्रारम्भिक बयानका क्रममा तामाङले उक्त चरेस ट्याक्सीमा लिएर वीरगन्ज आएको मात्रै बताएको तर चरेस कहाँबाट लिएर आएको भन्ने बारेमा नखुलाएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।पक्राउ परेका तीनै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए ।



