वीरगन्ज । स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको समन्वयमा एसियाली विकास बैंकको आर्थिक सहयोग, वाटर एसिया इन्टरनेशनल प्रा.लि. तथा लाइफलाइन लेबोरेटरी एण्ड रिसर्च सेन्टर प्रा. लिको प्राविधिक सहयोग र वीरगन्ज महानगरपालिकाको सहकार्यमा वीरगन्जमा रहेका निजी अस्पतालहरुलाई स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धि १ दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
वीरगन्जको होटल पुजनमा शुक्रबार बिहान आयोजना गरिएको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बीस वटा निजी अस्पतालबाट २/२ जना ( १ जना व्यवस्थापन र १ जना फोकल पर्सन) सहभागी थिए ।

स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विशिष्ट अतिथिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, ADB का राजन आचार्य रहनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्यजन फोहरको उचित व्यवस्थापन बारे चर्चा भएको थियो । सहभागी वक्ताहरुले सम्बन्धित व्यक्तिले यसबारे गम्भीरतापूर्वक कार्य गर्दा हुन सक्ने विभिन्न किसिमको जोखिमबाट जोगिन सक्नेमा जोड दिएका थिए ।
वीरगन्ज महानगरको स्वास्थ्य शाखाको सहयोग भएको सो कार्यक्रमको सहजकर्तामा उपेन्द्र ढुङ्गाना, डा. अंजना शाक्य, सोनम सिंह, धिरज मैनाली र सुरेन्द्र भट्टराई रहनुभएको थियो ।

स्रोत व्यक्तिमा महानगरबाट राकेश साह, वन तथा वातावरण बिपत व्यवस्थापन शाखाका प्रकाश एरि, स्वास्थ शाखाका सह-संयोजक अनिशकान्त कुशवाहा र सुनिल कुर्मीको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सह-संयोजक कुशवाहाले गरेका थिए भने समापन डाक्टर अंजना शाक्यले गरेकी थिइन् ।
सोही कार्यक्रममा बयोधा अस्पताल, प्रभु अस्पताल लगायत १९ वटा निजी अस्पतालका प्रतिनिधिले अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहरको उचित तरिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् । विभिन्न अस्पतालबाट कविता पोखरेल, सन्तोष अधिकारी, साजाद हवारी, दिलिप कुमार राउत, अजय साह, सतिष कुमार सिंह, सुभाषचन्द्र गुप्ता, पुर्निमा सुवेदी, रविभुषण पटेल, मनोज कुमार पटेल, विनय कुमार पटेल, राजेन्द्र राउत लगायतको उपस्थिति रहेको थियो ।

विभागले सरकारी संस्थालाई तीनदिने आधारभूत तालिम तथा निजी अस्पताललाई एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।







